राजनीतिक दल खोल्न उत्साह: १२३ दल दर्ता, ३२ प्रक्रियामा
काठमाडाैं | मंसिर १, २०८२
काठमाडौँ: वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् ।
राजनीतिक यात्राको आरम्भमै उनीहरूले आआफ्नो सक्रिय सहभागितामा दल दर्ता गराएका छन् । केही महिनाकै अन्तरालमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि उनीहरू दल दर्ता गरेर चुनावी स्पर्धामा उत्रिने तयारीमा छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग नजिक रहेर विगतमा उहाँको प्रमुख सल्लाहकारको जिम्मेवारी सम्हाल्नुभएका प्रशान्त सिंहले आन्तरिक तयारी पूरा नभई ‘प्री म्याच्युअर’ तरिकाले दल दर्ता गराउनुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सामान्य अवस्थामा दल दर्ता गरेर जान अझै एक वर्ष लाग्ने भनेका थियौँ तर बाध्यतावश यतिबेलै दर्ता गर्न आउनुप¥यो ।”
प्रशान्त सिंह आफ्नै संयोजकत्वमा
‘पिपुल फस्र्ट पार्टी’ दल दर्ताको निवेदन लिएर पुग्नुभएको छ । उहाँले नागरिक सर्वोच्चतासहितको नागरिकतन्त्र आफ्नो दलको आधार हुने जिकिर गर्नुभयो ।
सिंहसहित राजनीतिक विश्लेषक डम्बरनारायण खतिवडासमेत सो दलमा आबद्ध हुनुहुन्छ । उहाँहरूको समूहले विगत दुई वर्षदेखि ‘नागरिक प्रथम’ अभियानसमेत सञ्चालन गरेको छ । नेपाल सरकारका पूर्वसचिव इन्जिनियर अनुपकुमार उपाध्यायले ‘उज्यालो पार्टी नेपाल’ दर्ता गर्न निवेदन दिनुभएको छ ।
सो दलले निर्वाचन आयोगमा पेस गरेको केन्द्रीय समितिको विवरणमा छ जना इन्जिनियर र सात जना डाक्टर अटाएका छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्यका रूपमा स्वतन्त्रबाट निर्वाचित डा. तारा जोशी सो दलको केन्द्रीय समिति सदस्य हुनुहुन्छ ।
आपराधिक गतिविधिमा संलग्न भएपछि २०७५ फागुनमा सरकारले राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहले आगामी निर्वाचनमा भाग लिने गरी दल दर्ताको निवेदन दिएको छ । चन्द महासचिव रहने गरी ‘कम्युनिस्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन परेको छ । कागजात पूर्ण नहुँदा आयोगले हालसम्म मान्यता दिएको छैन ।
आयोगले दल दर्ता आह्वान गरेपछि दिनेशराज प्रसाईंको नेतृत्वमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ ले दल दर्ताको निवेदन दिएर दलको मान्यता पाएको छ । २९ सदस्यीय केन्द्रीय समिति रहेको सो दलमा नेपालको चर्चित निजी वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतसमेत हुनुहुन्छ । उद्यमी गोपीलाल न्यौपानेले ‘नेपाल लिभरल पार्टी’ दर्ता गर्न निवेदन दिनुभएको छ ।
आफूलाई अर्थविद् र उद्यमीका रूपमा चिनाउने न्यौपानेले आर्थिक पुँजीवाद, आर्थिक उदारवाद र स्वतन्त्रताको पक्षमा आवाज उठाउन दल दर्ता गर्न लागेको बताउनुहुन्छ ।
जेनजी आन्दोलनलगत्तै ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ समेत दर्ताका लागि निर्वाचन आयोग पुग्यो । कात्तिक २ गते नै निर्वाचन आयोग पुगेको सो दलका पदाधिकारीले आयोगले मागेको थप कागजात उपलब्ध गराउन नसकेपछि कात्तिक ३० गते दल दर्ताको निवेदन फिर्ता लिएको छ । सो दलको प्रमुख व्यक्ति ३२ वर्षीय हिराप्रसाद सोतीले आफैँ ‘उज्यालो पार्टी नेपाल’ को केन्द्रीय समितिमा सनाखत गर्नुभएको छ ।
आन्दोलनको नेतृत्व गरेका जेनजी युवामध्ये कसैले पनि कात्तिक २९ गतेसम्म आयोगमा आफ्नै अध्यक्षतामा दल दर्ताका लागि निवेदन दिएका छैनन् तर जेनजी आन्दोलनताका दमकमा घाइते हुनुभएका राजेश प्रतेल आफ्नै संयोजकत्वमा दल दर्ता प्रक्रियामा हुनुहुन्छ । सो दलका २१ जना केन्द्रीय समितिमध्ये करिब १९ जना २८ वर्षभन्दा मुनिका हुनुहुन्छ ।
कात्तिक २९ गते किशोरी कार्कीको अध्यक्षतामा ‘नवनिर्माण पार्टी’ दर्ताका लागि निवेदन दर्ता भएको छ । कात्तिक २८ गते दल दर्ताका लागि निर्वाचन आयोग पुग्नुभएकी कार्कीले अपुग कागजात पेस गर्नुभएको छैन । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र निर्वाचित हुनुभएका हर्कराज राईले ‘श्रम संस्कृति पार्टी’ दर्ता गराउनुभएको छ ।
आयोगमा दर्ताको निवेदन परेको ‘नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र)’ ले थप कागजात बुझाउन नसक्दा मान्यता पाएको छैन । ‘नागरिक सर्वोच्चता पार्टी’, ‘नेपाल राष्ट्रिय युवा पार्टी’, ‘सार्वभौम नागरिक पार्टी’, ‘नेपाली प्रथम पार्टी’, ‘राष्ट्रिय स्वाभिमान पार्टी नेपाल’, ‘समावेशी समाजवादी पार्टी’, ‘राष्ट्रिय गौरव पार्टी’, ‘एकता नेपाल’) लगायत ३० दल दर्ताको प्रक्रियामा छन् ।
आयोगमा दर्ता गराउन पुगेका प्रस्तावित दलका पदाधिकारीमध्ये अधिकांशले चर्चित व्यक्तिहरूको समर्थन आफूलाई प्राप्त रहेको दाबी गरेका छन् । ‘नागरिक बचाउ दल’ का पदाधिकारीले आइतबार आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै व्यवसायी दुर्गा प्रसाईंको मौन समर्थन रहेको दाबी गरे ।
‘उज्यालो नेपाल पार्टी’ लाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङको समर्थन रहेको दाबी गरिएको छ । मन्त्री घिसिङ आफैँले सो विषयमा औपचारिक धारणा सार्वजनिक गर्नुभएको छैन ।
आयोगमा यसअघि नै दर्ता कायम रहेको ‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)’ ले नाम परिवर्तनका लागि निवेदन दिएको छ । सो दलमा नेकपा (माओवादी केन्द्र) बाट अलग्गिनुभएका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारलगायत नेताहरू आबद्ध हुने बताइएको छ ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

